logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कलंकी–नागढुंगा सडक मर्मत सम्भार कार्य हुँदै


अंकुरण खबर
1.183K
Shares

गत वर्ष निर्माण सम्पन्न भएको कलंकी–त्रिपुरेश्वर–नागढुंगा सडकमा फेरि मर्मत सम्भार कार्य अघि बढाइएको छ ।

निर्माण सम्पन्न भएको १३ महिनासम्म निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने भएकाले सोहीअनुसार काम भइरहेको हो । त्रिपुरेश्वरदेखि कलंकीसम्मको मर्मत कार्य सम्पन्न भइसकेको छ । अहिले कलंकीदेखि नागढुंगा खण्डमा मर्मत भइरहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख गुरु अधिकारीका अनुसार निर्माण सम्पन्न भएपछिको १३ महिनासम्ममा जुनजुन कम्पनीले सडक निर्माण गरेको हो, समस्या आउँदा उसैले मर्मत गर्नुपर्छ । “यस खण्डमा देखिएको त्रुटि सच्याउने काम भइरहेको छ”, प्रमुख अधिकारीले भने “यो खण्डमा काम भएपछि नै डिभिजन सडक कार्यालयलाई हस्तान्तरण गरिनेछ ।”यो सडक उपत्यकाको विस्तारित सडकमध्ये सबैभन्दा पहिले निर्माण सकिएको सडक हो ।

पाँच वर्षपहिले नै सडक विस्तारका लागि ठेक्का सम्झौता भए पनि सडकसँगै घर भएका स्थानीयवासीको अवरोधका कारण दुई वर्षसम्म निर्माण ठप्प थियो । स्थानीयवासीले घर भत्काउन नमानेपछि सरकारले उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा चावहिल–साँखु सडकसँगै यो सडकको निर्माण भएको थियो । मापदण्ड अनुसार २२ मिटर चौडाई कायम भएका स्थानमा मात्रै आयोजनाले दुवैतर्फ हिमपाइप र पैदलयात्रु मार्ग निर्माण गरेको छ । चौडाई कम भएका स्थानमा सडक उपलब्ध भएपछि नै पैदलयात्रु मार्ग निर्माण गरिनेछ । रासस