अर्थ

३० अंकले बढ्यो नेप्से

बिहीबार सेयर बजारको परिसूचक नेप्से ३० अंकले बढेको छ ।

३०.७८ अंकले बढेर परिसूचक १ हजार ५७२ अंकमा कायम भएको छ । ११ बजे कारोबार खुलेपछि १८ मिनेटसम्म ओरालो लागेको बजार त्यसपछि निरन्तरजसो उकालो लागेको हो ।

यस दिन १९१ कम्पनीको ३ अर्ब ३६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । खासगरी होटल र जलविद्युत क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

निषेधाज्ञा खुलेपछि लगानीकर्ता होटल क्षेत्रमा आकर्षित भएका छन् । निषेधाज्ञाका बीचमा कतिपय होटलको मूल्य घटेको अवस्था रहेको र क्रमिक रुपमा पर्यटन क्षेत्रमा सुधार हुने अनुमानका बीचमा लगानीकर्ता होटल क्षेत्रमा तानिएका हुन् ।

सोल्टी होटल, तारागाउँ रिसोर्ट, ओरेन्टल होटलको मूल्य यस दिन १० प्रतिशतले बढेको छ । होटल क्षेत्रमा मात्रै नभई जलविद्युतमा पनि लगानीकर्ताको आकर्षण बढेको छ । खासगरी निर्माणाधीन अवस्थाका जलविद्युत आयोजनाको मूल्य सस्तो भएकाले त्यसतर्फ आकर्षण बढेको छ ।

माथिल्लो तामाकोसी, कालिका पावर, अरुण भ्याली, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युतको मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशत नै मूल्य बढ्नेमा रिलायन्स लाइफ इन्स्योरेन्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट फाइनान्स, समृद्धि फाइनान्स, लगायत कम्पनी छन् ।

होटल १६१ र जलविद्युत समूह ८८ अंकले बढेका छन् । त्यस्तै बैंकिङ २८, ब्यापार ६, विकास बैंक ६६, फाइनान्स ४१, उत्पादन १३, अन्य ८, माइक्रोफाइनान्स १२, जीवन बीमा समूह ४९ अंकले बढेका छन् ।

निर्जीवन बीमा समूह भने १ अंकमुनि रातो रह्यो । यस दिन कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी नै अग्रस्थानमा रह्यो । सो कम्पनीको १३ करोड रुपैयाँ बराबरको कारोबार हुँदा नेपाल बैंकको १२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

यस दिन एनआरएन लघुवित्तको मूल्य ६.७३ प्रतिशतले घटेको छ ।

Comment here