छ महिनादेखि बन्द रहेको आन्तरिक हवाई उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएकोे छ ।
उडान शुरू गर्नका लागि वायुसेवा कम्पनीहरू बुद्ध एयर, यती एयरलाइन्स, श्रीएयरलाइन्सलगायतले बुकिङ खुल्ला गरिसकेका छन् ।
बुकिङ खुलाएको दुई दिनमै आधाभन्दा बढी टिकट बिक्री भइसकेको वायुसेवा कम्पनीहरूको दाबी छ । बजारको आवश्यकताका आधारमा उडान संख्या बढाउने वायुसेवा कम्पनीहरूले जनाएका छन् ।
सरकारले तोकेको हवाई भाडादरमै आन्तरिक उडानका वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्ने वायुसेवा संघको भनाइ छ । सरकारले शुरुको एक साता आन्तरिक उडानका एयरलाइन्सलाई २५ प्रतिशतमात्र उडान अनुमति दिएको छ । एयरलाइन्सले जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाईभाडा पनि नबढ्ने भएको हो ।
सरकारले सिट संख्याको ५० प्रतिशतमात्रै यात्रु बोक्ने गरी असोज १ गतेदेखि नै आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरे पनि वायुसेवा सञ्चालकले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान लिएकाले पूर्वनिधारित मितिमा आन्तरिक उडान हुन सकेको थिएन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका जहाजले शत्प्रतिशत यात्रु बोक्न पाउने निर्णय गरेपछि एयरलाइन्स कम्पनी ५ असोजदेखि उडान सञ्चालन गर्न सहमत भएका हुन् ।
अन्तर्राष्ट्रिय उडान भने भदौ १६ गतेदेखि सञ्चालनमा छ । वायुसेवा सञ्चालक संघले मन्त्रालय र नियामक निकायको निर्देशन पूर्ण पालना गर्दै कोभिड रोकथाम तथा जोखिम न्यूनीकरण गर्ने कार्यमा सबै वायुसेवाको पूर्ण सहयोग रहने जनाएको छ ।