स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको सत्याग्रहमा आज माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ ।
७ दिनदेखि जुम्लामा सत्याग्रहमा रहेका डा केसीको स्वास्थ्य बिग्रिएको छ । उनलाई सदरमुकाम नजिकैको अनशनस्थल बाबिरामष्टोको मन्दिरबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
तर उनले आफ्नो माग पूरा गर्नुको सट्टा आफूलाई अपहरणको शैलीमा प्रतिष्ठान लगिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
शनिबार बिहान भएको स्वास्थ्य परीक्षणमा डा. केसीको अवस्था कमजोर भएको र २४ घण्टा मनिटरिङमा राख्नुपर्ने अवस्था रहेको भन्दै चिकित्सकहरूले सुझाव दिएका थिए । तर डा. केसीले आफू अनसन बसेको स्थान छोड्न मानेका थिएनन् ।
शनिबार साँझ उनलाई बल प्रयोग गरी प्रतिष्ठानमा लगिएको हो ।