चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ ।
७ दिनदेखि जुम्लामा सत्याग्रहमा रहेका डा. केसीलाई गएराति उपचारका लागि कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान लगिएको भए पनि उनले आवश्यक परीक्षण र उपचार गर्न मानिरहेका छैनन् ।
अस्पतालले आइतबार मध्यान्ह जारी गरेको बुलेटिनअनुसार डा. केसीलाई आईसीयूमा राखिएको छ । हिजोसम्म दिनमा तीनपटक स्वास्थ्य जाँच भइरहेकोमा अस्पताल ल्याएपछि कुनै परीक्षण गर्न नमानेको प्रतिष्ठानले जनाएको छ ।
यसका कारण प्रेसर, मुटुको गति, शरीरको तापक्रम, अक्सिजनको मात्रा, पिसाबको मात्रा आदि केही थाहा हुन सकेको छैन ।
डा. केसीको रगतमा चिनीको मात्रा अति न्यून भई प्रमुख अंगहरुमा जटिल समस्या देखिन सक्ने, इलेक्ट्रोलाइट्स तथा एसिड बेस ब्यालेन्समा गडबडी भई प्रमुख अंगहरुमा समस्या हुन सक्ने र रोग प्रतिरोधात्मक क्षमता कमजोर भई संक्रमणको खतरा हुन सक्ने उपचारमा संलग्न चिकित्सकहरुले औंल्याएका छन् ।