नेपालकी महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसंघ जनसंख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत भएकी छन् ।
राष्ट्रसंघीय महिलाविरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहेकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको सदस्यमा मनोनीत भएकी हुन् ।
उनी राष्ट्रिय महिला आयोगका पूर्व अध्यक्ष समेत हुन् । २८ सदस्य रहेको आयोगको अध्यक्षता भने तान्जानियाका पूर्वराष्ट्रपति जाकाया किक्वेते र क्यानडाका २७ औं गभर्नर जनरल मिसेल जिनले गर्नेछिन् । आयोगमा देशका पूर्व प्रमुखदेखि अभियानकर्मी र युवासमेत सदस्यको रूपमा रहेका छन् ।
आयोगले १० वर्षभित्र तीन शून्य अर्थात, परिवार नियोजनका साधनसम्म पहुँच नभएका महिलाको संख्या शून्य, रोक्न सकिने मातृ मृत्युदर शून्य र लैंगिक आधारमा हुने हिंसालाई शून्य बनाउने लक्ष्य राखेको छ ।