आज मंगलबार देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षाका साथै हावाहुरीसमेत आउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौमस पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १ र २ का केही स्थानमा हावाहुरीसमेत आउने सम्भावना छ।
यसैगरी आज राति पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १, २ र बागमती प्रदेशमा भारी वर्षाको समेत सम्भावना छ। प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानमा वर्षाका साथ हावाहुरीसमेत चल्ने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
महाशाखाले विज्ञप्ति जारी गर्दै आज (मंगलबार) रातिदेखि देशका सबै नदीमा बाढी आउने सम्भावना रहेको जानकारी दिएको हो । यसर्थ नदी छेउछाउका बासिन्दाले असोज ११ गतेसम्म उच्च सतर्कता अपनाउन आवश्यक रहेको महाशाखाले जनाएको छ ।
आज रातिबाट देशका सबै नदीमा बहाव बढ्ने र असोज ७ ,८ ,९ र १० गते देशैभरका नदीमा बहाव उच्च हुने (सतर्कता तलै हुने भए पनि सामान्य अवस्थाबाट एक्कासि बढ्ने) पूर्वानुमान रहेकाले असोज ११ गतेसम्म नदी तटीय क्षेत्रमा क्रियाकलाप नगर्न गर्नुपरेमा अति उच्च सतर्कता अपनाउन हुन हुन अनुरोध छ,’ सूचनामा भनिएको छ।