logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

पहिरोका कारण पर्वत-बाग्लुङ सडकखण्ड बिहानैदेखि अवरुद्ध


अंकुरण खबर
2.327K
Shares

मंगलबार साँझदेखि निरन्तर परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ ।

पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखिनै सडक अवरुद्ध बनेको हो । दुई सातादेखि सो स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने वित्तिकै पनि पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।

वर्षा नरोकिँदा अवरुद्ध सडक खुलाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिए । खड्काका अनुसार बाटो पुनः सञ्चालनमा ल्याउन स्काभेटर बोलाइएको र वर्षा रोकिए दिउँसोसम्ममा सडक सञ्चालन हुने छ ।

सडक अवरुद्ध हुँदा साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरु नयाँ पुलमा रोकिएका छन । ती जिल्लाबाट पोखरा, काठमाडौंका लागि छुटेका सवारी साधनहरु रातिदेखिनै मालढुंगामा अलपत्र बनेका छन् ।

अघिल्लो साताको आइतबारदेखि सो ठाउँमा निरन्तर पहिरो झरिरहेको थियो ।