स्वास्थ्य

वीरमा संक्रमितको अंग निकालिएको आरोपमा स्वास्थ्य मन्त्रालयको प्रष्टिकरण

वीर अस्पतालमा मृत्यु भएका केन्द्रीय कारागारका कैदीको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि स्पष्टिकरण दिएको छ ।

मन्त्रालयको बुधबारको कोभिड अपडेटको प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसबारे प्रस्ट्याएका हुन् ।

उनका अनुसार गत असोज ३ गते राति १०ः ५५ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याई पुर्‍याउँदा नै बिरामीको मृत्यु भइसकेको थियो । अस्पताल पुग्नेवित्तिकै ड्यूटीमा खटिएका चिकित्सकले मृत घोषित गरेका थिए । यस्तो खालको मृत्युलाई चिकित्सकीय भाषामा ‘ब्राउट डेड’ भनिने गरेको प्रवक्ता गौतमले बताए ।

उनका अनुसार कारागारका सुरक्षाकर्मीले शवको कोरोना परीक्षण गनुपर्ने भनेपछि मृतकको स्वाब संकलन गरी वीर अस्पतालकै प्रयोगशालामा परीक्षण गरिएको थियो । असोज ५ गते आएको रिपोर्टमा कोरोना संक्रमण देखियो ।

कोरोना परीक्षणका लागि स्वाब लिइएकाले मृतकको शव शवगृहमा राख्दा सडेको प्रवक्ता गौतमको दावी छ । ‘विगत ४ दिनदेखि शवगृहमा राखिएकाले शव सड्ने, गल्ने भएको  शरीरमा फोकाहरु निस्किएको, छालाको रंग निलो कालोमा परिणत भएको, जिउ सुन्निएको र मुख, नाकबाट रगत मिश्रित तरल पदार्थ निस्किएको अवस्था हो।’ गौतमले भने ।

सड्न गल्न सुरु भएको शवमा यस्ता परिवर्तन हुने र यो सामान्य प्रक्रिया भएको उनले बताए । ‘सञ्चार माध्यममा आएजस्तो कुनै अंग निकालिएको छैन’ उनले प्रष्ट्याए ।

अस्पतालले पनि यसबार स्पष्ट पारिसकेकाले यसबारे नबुझी अतिरञ्जित समाचार नदिन गौतमले सञ्चार माध्यमलाई आग्रह गरेका छन् ।

कैन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका रुपन्देही सिदार्थ नगर नगरपालिकाका घर भएका ६३ वर्षीय रामलखन जैसवालको मृत्युका विषयलाई लिएर तनाव उत्पन्न भएको थियो ।

मृतकको आँखा र अन्य अंग झिकिएको, घाँटी काटिएको र शरीरमा फोकाहरु भएको भनी सामाजिक सञ्जालमा एक एक भिडियो फैलाइएको थियो । त्यस भिडियो हेरेर धेरैले अस्पतालमाथि प्रश्न उठाएपछि अस्पतालले मंगलबार नै विज्ञप्ति निकालेर यसको खण्डन गरिसकेको छ ।

Comment here