सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूसहित १३ विद्यार्थी संगठनले सार्वजनिक यातायातलाई ५० प्रतिशत बढी भाडा नलिन माग गरेका छन् ।
भौतिक, योजना तथा पूर्वाधार मन्त्री बसन्त नेम्बाङलाई बुधबार भेटेर सामाजिक दुरी कायम गर्ने सर्तमा बढी भाडा लिन छुट दिएपनि ठेलमठेल यात्रुहरु राखेर ५० प्रतिशत बढी भाडा नलिन विद्यार्थी संगठनले ध्यानाकर्षण गराएका हुन्।
‘हवाई जहाजमा पूर्ण क्षमतामा यात्रु राख्न दिएको छ । त्यसका आधारमा आधा मात्रै यात्रु राखेर बस चलाउने दिने निर्णय अपरिपक्क छ,’ विज्ञप्तिमा उल्लेख गर्दै भनिएको छ, ‘हावाईजहाँजबाट यात्रा गर्दा कोरोना नसर्ने र बसबाट यात्रा गर्दा मात्रै सर्ने भन्ने हुँदैन। बसमा समेत पूर्ण क्षमतामा यात्रु राख्न दिनुपर्छ।’
सार्वजनिक यातायतमा आधा मात्रै यात्रु राख्न निर्देशन दिएपनि पूर्ण क्षमतामा यात्रु राखेर ५० प्रतिशत भाडा असुलेर यात्रुको ढाड सेक्ने कार्य भएको अनेरास्ववियूका नेताले बताएका छन् ।