logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डा. केसीको जीवन रक्षा गर्न मानवअधिकार आयोगको आग्रह


अंकुरण खबर
3.51K
Shares

राष्ट्रिय मानवअधिकार आयोगले डा.गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ ।

पटक-पटकको अनशनका कारण उनको शरीरमा रोगप्रतिरोधात्मक क्षमता कमजोर हुँदा संक्रमणको जोखिम बढेको भन्दै आयोगले केसीको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

आयोगका सचिव वेद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै २९ भदौदेखि आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको बताएका छन् । आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ ।

जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरा मष्ट मन्दिरमा अनशन बसेका केसीलाई स्वास्थ्य समस्या जटिल बनेपछि मंगलबार काठमाडौं ल्याइएको थियो। उनलाई वीर अस्पतालस्थित् राष्ट्रिय ट्रमा सेन्टरमा लगिएपनि उनी त्यहाँबाट स्वेच्छिक डिस्चार्ज लिएर त्रिवि शिक्षण अस्पताल महारागञ्ज गएका थिए । केसी त्रिवि अस्पतालमै अनशनरत छन् ।

आयोगले चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन, डा. केसीसँग सरकारले विगतमा पटक–पटक गरेका सम्झौताप्रति गम्भीर हुन र उनको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

‘आमरण अनसन जस्तो जीवन नै जोखिममा पर्नसक्ने जटील विकल्प नरोज्न पनि आयोग सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।