नेपाल तेक्वान्दो संघको सचिवालय थप दुई साता बन्द रहने भएको छ ।
सचिवालयमा कार्यरत दुई कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संघले दुई साताका लागि सचिवालय बन्द गर्ने निर्णय गरेको हो ।
संघले आइतबार एक सूचना जारी गर्दै सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा कार्यरत दुई कर्मचारीलाई कोरोना संक्रमण देखिएको जनाएको छ ।
उपत्यकाका तीन जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा संघको सचिवालय बन्द रहेको र सोही समयमा उनीहरुलाई कोरोना संक्रमण देखिएको संघले जनाएको छ । त्यस समय उनीहरु कार्यालयमा अनुपस्थित भएको समेत सूचनामा उल्लेख गरेको छ ।
यससँगै संघले आफ्नो सचिवालय असोज २५ गतेसम्मका लागि बन्द रहने जनाएको छ । संघले सचिवालय नियमित गर्नुअघि कार्यालय परिसरलाई पूर्ण रुपमा सरसफाइ र स्यानिटाइज गर्ने जनाएको छ ।
