तेजाब आक्रमणका दोषीहरुलाई कडा कारवाही गर्ने व्यवस्था सहितको कानूनी व्यवस्था गर्न सरकारले अध्यादेश जारी गरेको छ।
राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी हुन् ।
तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ नयाँ हो भने फौजदारी कसूर तथा फैजदारी कार्यविधि सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश हो ।
अब अनुहारमा तेजाब आक्रमण गरेमा २० वर्षसम्म कैद सजाय हुनेछ । साथै, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशमा तेजाब आक्रमण गर्नेलाई विगतको भन्दा कडा सजायको व्यवस्था गरिएको छ ।
गत बिहीबारको मन्त्रिपरिषदको बैठकले अध्यादेश पारित गर्दै जारी गर्न राष्ट्रपति समक्ष पठाएको थियो । अध्यादेश जारी भएपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले एसिड आक्रमणकारीलाई कुनै पनि अवस्थामा छुट नहुने व्यवस्था गरिएको बताइन् ।
