पर्साको वीरगन्जमा एक कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया गरी प्रसूती गराइएको छ ।
वीरगन्ज हेल्थ केयर अस्पतालको प्रसूती विभागको टोलीले बिहान ६:४० मिनेटमा २६ वर्षीया संक्रमित गर्भवती महिलाको शल्यक्रिया गरी प्रसूती गराएका हुन् ।
शल्यक्रिया गरी प्रसूती गराइएकी महिला वीरगन्ज महानगरपालिका–२६ रामगढवाकी हुन् । शल्यक्रिया पछि आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
कोरोना संक्रमण देखिएकी उनलाई केही दिन अगाडिसम्म स्थानीय कोडिभ अस्पतालले भर्ना लिन मानेको थिएन ।
संक्रमित गर्भवतीलाई अस्पतालले भर्ना लिन नमानेको विषय सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि सोसम्बन्धमा स्थानीय प्रशासनले चासो दिएको थियो ।
अस्पतालले भर्ना लिन नमानेपछि अक्सिजन दिएर घरमै राखिएकी उनलाई पछि नारायणी अस्पताल भर्ना गरिएको थियो ।
मंगलबार राति पेट दुख्न थालेपछि नारायण अस्पतालले शल्यक्रियाका लागि बुधबार बिहान वीरगन्ज हेल्थ केयरमा पठाएको थियो ।
प्रमुख जिल्ला अधिकारी आसमान तामाङले नारायणी अस्पतालकै समन्वयनमा निजी अस्पताल (वीरगन्ज हेल्थ केयर)मा संक्रमित गर्भवतीको शल्यक्रिया गरी प्रसूती गराइएको बताए ।
उनलाई गत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।