नेकपाका उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभामा मनोनयनविरुद्ध परेको रिटमा आज (बुधबार) सुनुवाई हुँदैछ ।
२०७४ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् ।
उक्त मनोनयनविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुन लागेको हो ।
प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्तिलाई सभाको त्यही कार्यकालभित्र संघीय संसदमा लैजान र मन्त्री बनाउन नमिल्ने भनि त्रिपाठीले रिट हालेका थिए ।
यसअघि ७ असोजमा रिटमाथि सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश गरेको थियो । उक्त इजलासले उक्त रिटबारेको थप सुनुवाई संवैधानिक इजलासमा हुने आदेश गरेपछि आज संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।