सत्तारूढ नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ बुधबारसम्मका लागि सरेको छ ।
संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा तोकेर बुधबारका लागि सारिएको सर्वोच्च अदालतले जनाएको छ ।
कानुन व्यवसायीका तर्फबाट बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशसहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।
मुद्दामा १४ असोजमा सुनुवाइ सुरु भएको थियो । बहस नसकिएपछि आजका लागि सुनुवाइ सारिएको थियो। अब बुधवार मात्र उक्त मुद्दाको सुनुवाइ भएर टुंगो लाग्ने भएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी थिइन् ।
मनोनयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्तिलाई सभाको त्यही कार्यकालभित्र संघीय संसदमा लैजान र मन्त्री बनाउन नमिल्ने भनि त्रिपाठीले रिट हालेका थिए ।
रिटमा सुनुवाइ गर्दै ७ असोजमा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश गरेको थियो ।