आन्तरिक उडान गर्दै आएको यति एयरलाइन्सले यही २१ गतेदेखि सिमरा उडान गर्ने भएको छ ।
कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार यतिले जेटस्ट्रिम विमानमार्फत हरेक दिन बिहान ९ बजे र बेलुका पौने ५ बजे काठमाडौंबाट उडान गर्नेछ ।
उडानको एकतर्फी भाडा दर दुई हजार आठ सय रुपैयाँ राखिएको छ । यात्रुको माग बढेको भन्दै लामो समयपछि यतिले सिमरामा उडान भर्नलागेको हो ।
यतिले अहिले पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारलगायतका स्थानमा उडान गरिरहेको छ ।
कम्पनीले काठमाडौं र पोखराबाट पर्वतीय उडान तथा तारा एयरले दुर्गम हिमाली तथा पहाडी भाग लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुरा जस्ता विमानस्थलमा सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीका अनुसार केही दिनअघि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाइसकेको छ ।