सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकोले दशैँ पर्व मनाउँदा विशेष ख्याल गर्न आग्रह गरेको छ ।
दशैँमा मान्यजनबाट टीका थाप्ने चलन रहेको र ज्येष्ठ नागरिकबाट टीका थाप्दा उनीहरुलाई कोरोना सार्ने जोखिम हुने भन्दै यो वर्ष ख्याल गर्न आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमण भएका ठाउँबाट गाउँघरमा जाँदा कोरोना भाइरस पनि सँगै लगिने खतरा रहेकोले यो वर्ष टीका थाप्नकै लागि सकेसम्म यात्रा नगर्न आग्रह गरे ।
प्रवक्ता गौतमले दशैँ पर्व अर्को वर्ष पनि आउने भन्दै हामीले हाम्रा हजुरबुबा, हजुरआमा तथा बुबा-आमालाई कोरोना लगिदियौँ भने यसले उहाँहरुको ज्यानसमेत जान सक्ने बताए । ज्येष्ठ नागरिकहरु कोरोना सङ्क्रमण तथा सङ्क्रमण भएपछि जटिल अवस्थामा पुग्ने खतरा धेरै रहेकोले सकेसम्म उहाँहरुको छेउमा नजान आग्रह गरे ।
यसैबीच सरकारले कोरोना खोप आयातसम्बन्धी कसैसँग सम्झौता नगरेको स्पष्ट पारेको छ । एउटा भारतीय कम्पनीले रुसमा बन्दै गरेको खोप नेपाल ल्याउन सम्झौता गरेको खबरप्रति इङ्गित गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले विश्वमा अहिलेसम्म खोप नै नबनेकोले यसबारेमा सम्झौता नभएको बताए ।