गण्डकी प्रदेशमा चिकित्सकसहित थप ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पोखरास्थित क्षयरोग उपचार केन्द्र र चितवनस्थित चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि भएकारुमा नवलपरासीका २६, तनहुँका नौ, लमजुङका पाँच जना, गोरखा, बाग्लुङ र स्याङ्जाका एकएक जना रहेका छन् ।
तनहुँका नौ जना स्वास्थ्यकर्मी रहेका छन् । उनीहरु तनहुँस्थित बिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा कार्यरत छन । उनीहरुमध्ये चिकित्सक पनि रहेको जनाएको छ ।
त्यस्तै, लमजुङमा कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमित भेटिएका हुन् । उनीहरु सबैलाई आइसोलेसनमा राखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या चार हजार ५९ पुगेको छ ।