२२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले आज दिउँसो र्याली गर्ने भएका छन् ।
चिकित्सकहरुले अस्पतालको कोभिड र इमर्जेन्सी बाहेकका अन्य सेवा छोडेर र्याली गर्न लागेका हुन् । र्यालीमा आवासीय चिकित्सकलगायत अन्य समर्थक पनि सहभागी हुनेछन् ।
डा. केसीको स्वास्थ्य अवस्था निकै कमजोर बनिसक्दा पनि सरकारले उनका मागप्रति कुनै चासो देखाएको छैन । डा. केसीको रगतमा अक्सिजनको मात्रा निकै कम देखिएपछि उनलाई अक्सिजन दिन थालिएको छ ।
चिकित्सकका अनुसार उनको श्वासको गति बढेको छ । चक्कर लाग्ने र अत्यधिक थकान हुनेलगायतका समस्या देखिएको छ । केसीको उपचारमा संलग्न डा. सुवासप्रसाद आचार्यका अनुसार केसीको अवस्था कमजोर भए पनि उनले कुनै उपचार लिन मानेका छैनन् ।