सरकारले काठमाडौंमा रहेका मानिसलाई गाउँ आवतजावत नगर्न आग्रह गरेको छ ।
असोज १९ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले चाडवाडको वाहानामा कोरोना संक्रमण फैलन सक्ने भन्दै यसपालि काठमाडौंबाट गाउँ नजान आग्रह गरेका हुन् ।
काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा रहेको भन्दै उनले काठमाडौंबाट गाउँ जान र गाउँबाट फेरि काठमाडौं आउने काम नगर्न आग्रह गरेका हुन् ।
‘देशभरिमा थपिएका संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाकै छन्,’ मन्त्री ज्ञवालीले भने, ‘यस्तो बेलामा दैनिक गतिविधि गर्दा विशेष सावधानी अपनाउन सरकारको आग्रह छ ।’
उनले यसपालिको दशैंमा अभिभावकसँग टाढैबाट आशिर्वाद लिन पनि अनुरोध गरे । ६० वर्ष बढी उमेर काटेका मानिसहरूलाई कोरोनाको संक्रमण दर र संक्रमणपछि मृत्युदर बढी भएकाले उनले आफ्ना अभिभावकलाई जोखिममा नर्पान आग्रह ग रे।
‘हामी स्वस्थ रहे चाडवाड अर्को वर्ष पनि मनाउन पाउँछौं । यो कुरालाई ख्याल गरिदिनुहोला, उनले भने, ‘हामीले काठमाडौंबाट गाउँ गएर आशिर्वाद लिँदा हाम्रा बुवाआमा, हजुरबुवा हजुरआमा, काकाकाकीलाई जोखिममा पार्न सक्छौं।’
उनले हामीले यसपालि अभिभावक जोगायौं भने फेरिरफेरि उहाँहरूबाट आशिर्वाद लिन पाउँने भएकाले अभिभावक जोगाउन आग्रह गरे ।