logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी : डा. केसीको आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल नगरियोस्


अंकुरण खबर
1.846K
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग वार्ता नगरेको भन्दै सरकारसँग आक्रोश पोखेको छ ।

आज (बुधबार) कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै डा. केसीसँग वार्ता नगरी कात्रो पठाउने तयारी गरेको हो ? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न समेत गरे ।

नेपाली कांग्रेसको पालामा कयौँ पटक डा.केसी अनशन बस्दा वार्ता गरेर मागहरू पुरा गरिएको दाबी गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीमा लोकतान्त्रिक संस्कार नभएको आरोप समेत लगाए ।

‘नेपाली कांग्रेसको पालामा डा. के.सी. अनशन बस्दा, वार्ता गरिए, कयौं माग पूरा गरिए । तर यहाँले उसबेला पूरा गरिएका माग एकातर्फ उल्टाउनु भयो, ’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अर्कातर्फ नयाँ सन्दर्भमा अघि सारिएका माग बारे संवाद मार्फत समाधान खोज्ने लोकतान्त्रिक संस्कार यहाँमा भएन । सत्याग्रहीलाई दुर्व्यवहार देखि, सत्ताको अहंकार सम्मले कम्युनिष्ट तन्त्रको मनोविज्ञानलाई मात्रै पुष्टि गरेका छन् ।’

उनले डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको अवस्थामा समेत वार्ता नगर्ने बालुवाटारे बालहठ प्रधानमन्त्रीलाई महंगो पर्ने चेतावनी समेत दिए । ‘डा. केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको छ । वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्रीज्यू । हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा. केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस्,’ विज्ञप्तिमा उल्लेख छ ।