logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सबै तहको परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद्को स्वीकृति


अंकुरण खबर
793
Shares

सरकारले रोकिएका परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ ।

मन्त्रिपरिषद्को बैठकको निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थाहरूलाई परीक्षा लिन सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमण जोखिमका कारण विगत सात महिनादेखि शिक्षण संस्था बन्द छन् भने कुनै पनि परीक्षा सञ्चालन हुन सकेको छैन । सरकारले देशभर बिस्तारै कोरोना संक्रमण कम हुँदै गएको निष्कर्ष निकाल्दै परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केन्द्र, प्रदेश र स्थानीय तहको सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न सकिने बताए ।

सरकारले राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको नियुक्ति प्रक्रिया पनि शुरू गर्ने निर्णय गरेको छ । मन्त्री ज्ञवालीले व्यवसायीक तालिम प्रदायकहरूलाई पनि तालिम दिन स्वीकृति दिएको जानकारी दिए ।