नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बुधबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर सक्रिय संक्रमितको संख्या २५००७ रहेको र ४ हाजर १ सय ६४ जना क्वारेन्टिनमा रहेको जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १४२०९ नमुना परीक्षण गर्दा ३४३९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।
के अब पुन: लकडाउन हुन्छ ?
यसअघि स्वास्थ्य मन्त्रालयले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघे मुलुकमा पुन लकडाउन गर्न सरकारलाई सिफारिस गरेको थियो ।
देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने भएकाले लकडाउनमा जानुपर्ने स्थिती आउनसक्ने विज्ञहरुले जनाएका थिए । त्यसो भए के अब लकडाउन हुन्छ ? यसबारे प्रष्ट पार्दै प्रवक्ता डा. गौतमले तत्काल लकडाउनको सम्भावनालाई अस्वीकार गरेका छन् ।
लकडाउनमा जाने कुराको विरोध हुने डरले सरकार पछिल्लो समय सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपनि पुन: लकडाउनमा नजाने मनस्थितीमा रहेको बुझिन्छ । यद्धपी, यहि गतिमा संक्रमित बढेमा अस्पतालले धान्न नसक्ने प्रवक्ता गौतमको भनाई छ ।