स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण फैलिने डर भएकाले यस वर्षको दसैंमा बुढापाकासँग गएर टीका नलगाउन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दसैंमा बुढापाकासँग गएर टीका लगाएर आर्शीवाद नलिन आग्रह गरेका हुन् । “बुढापाकासँग गएर यस पटक टीका नलगाउँ,” उनले भने,“बरु अनलाइन वा फोनबाट आर्शीवाद लिउँ ।”
धेरै जना भेला भएर खाने र टीका लगाउने कार्य नगर्न समेत उनले आग्रह गरेका छन् ।
दसैंमा भिडभाडमा गएर किनमेल नगर्न पनि उनको अनुरोध छ । “दसैंमा भिडभाडमा गएर सपिङ नगरी भएकै लुगाकपडा र सरसमानको उपयोग गरी पुरानै लुगा लगाए दसैं मनाऔँ,” उनले भने, ।
उनले घरमै बनाएको खाने कुरा घरकै सदस्य मिलेर मात्रै खान आग्रह गरेका छन् ।