logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रकरणले पार्टी एकतामै गम्भीर असर पर्ने दाहालको चेतावनी


अंकुरण खबर
1.04K
Shares

नेकपा अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेश सरकारमा उत्पन्न समस्याले पार्टी एकतामा गम्भीर असर पर्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँगको सोमबार बालुवाटारमा भएको भेटमा दाहालले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव केन्द्रीय नेताहरूकै निर्देशनमा आएको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

दाहालले समस्या समाधानका लागि पहल थाल्न ओलीसँग आग्रह गरेका छन् । ‘कर्णालीमा जे भयो त्यो पार्टीको हितविपरीत भएको छ । यसले समग्र एकता प्रक्रियामै असर गर्छ,’ दाहालको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘यसमा तपाईं गम्भीर भएर पहल चाल्नुस् ।’

केन्द्रका नेताहरुकै निर्देशनअनुसार प्रदेशका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गर्ने तहमा पुगेको पूर्वमाओवादी पक्षको बुझाइ छ । छलफलमा यस विषयमा दाहालले प्रस्ट रुपमा ओलीलाई जानकारी गराएका छन् ।

सत्तारुढ दल नेकपा अध्यक्षद्वय ओली र दाहाल कर्णाली प्रदेशमा देखिएको समस्या कसरी समाधान गर्ने भन्ने निचोडमा भने पुग्न सकेका छैनन् ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री बनेका शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि दाहालले बिहानै खुमलटारमा आफू निकटका नेताहरुसँग गोप्य छलफल गरेका थिए । शाही तत्कालीन माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

नेकपाका १८ सांसदले आइतबार मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि त्यसले नेकपाको केन्द्रीय राजनीतिमा पनि तरंग ल्याएको छ । तत्काल कर्णालीको विवाद समाधान नभए नेकपाभित्र केही मत्थर हुन थालेको विवाद पुनः चर्किने सम्भावना देखिएको छ ।