कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ ।
मंगलबार दुई पक्ष(शाही,माधवकुमार) बीच भएको छलफलमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता समेत रहेका शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको जनाइएको छ ।
छलफलमा सहभागीका अनुसार नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने गरी सहमति भएको जनाएका छन् ।
एकलौटी ढंगले अगाडी बढेको भन्दै संसदीय दलका नेता शाहीविरुद्ध आइतबार नेकपाकै १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अहिलेको सहमति अनुसार अब अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसदले आफ्नो समर्थन फिर्ता लिने छन् ।