logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चाडपर्वलाई लक्ष्य गरी जिल्लाको सुरक्षामा थप कडाइ


अंकुरण खबर
2.132K
Shares

दशैं, तिहार तथा छठ पर्व नजिकिएसँगै जिल्लाभर हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले सक्रियता बढाएको छ ।

विशेष सुरक्षा योजनाअन्तर्गत जिल्लाभर ७४० प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

उनले चाडपर्वका बेला जिल्लामा हुन सक्ने चोरी, डकैती, जुवातास, लुटपाट, कालोबजारी, सार्वजनिक यातायातका टिकटमा ठगी र सवारी कसूरलगायत अपराध नियन्त्रणका लागि आवश्यक जनशक्ति तैनाथ गरिएको बताए ।

यसका लागि विभिन्न स्थानमा जाँचमा कडाइ गरिनाका साथै साइकल, मोटरसाइकलमा प्रहरीको गस्ती तथा सादा पोशाकमा प्रहरी परिचालन गरिएको नायब उपरीक्षक विष्टले बताए ।

उनले भने, “कुनै पनि हिंसाजन्य गतिविधि भएमा तुरुन्त रेस्पोन्स हुने गरी प्रहरी खटनपटन गरिने गरी व्यवस्था मिलाइएको छ ।” सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गणबाट नगरभित्रको सुरक्षाका लागि थप ५० प्रहरी पनि परिचालन गरिएको छ ।

सीमा नाकामा हुने चोरी निकासी, आवागमनमा हुने सास्ती, लागुऔषध तथा पटाकाजन्य पदार्थ ओसारपसार, जुवातास, बैँक तथा वित्तीय सङ्घसंस्थालगायत भीडभाड हुने क्षेत्रको सुरक्षाका लागि छट्टाछुट्टै टोली खटाई निगरानी बढाइएको छ ।

चाडपर्वका समयमा विभिन्न हिंसाजन्य क्रियाकलापका कुनै पनि घटना भएमा नजिकैको प्रहरी बिटमा खबर गरिदिन हुन उनले सर्वसाधारणलाई आग्रह गरे ।