सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद तथा जनवादी गायिका सानु सिवा पहाडीको निधन भएको छ।
प्रतिनिधि सभाकी सांसद पहाडीको बुधबार सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। मुटुमा समस्या देखिएपछि उनलाई उपचारका लागि केएमसीमा भर्ना गरिएको थियो।
राजनीतिका साथसाथै उनी जनवादी गीतसंगीतको क्षेत्रमा समेत क्रियाशील थिइन्। उनका ‘नरोए आमा’ र ‘बाँचेछु भने’ गरी दुईवटा एल्बम प्रकाशित छन्।
उनलाई २०७४ को निर्वाचनमा तत्कालीन नेकपा एमालेले इलामबाट समानुपातिक सांसदमा चयन गरेको थियो।
प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्।
‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधामन्त्री ओलीले भनेका छन्।
लामो समयदेखि मिगौला रोगबाट पीडित पहाडीको २०६३ मा भारतको तामिलनाडुको एपोलो हस्पिटलमा मिगौला प्रत्यारोपण गरिएको थियो।