नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटवार्तामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भारत र चीनसँगको सम्बन्ध र भारतीय सेनापतिको नेपाल भ्रमणबारे कुरा गरेको खुमलटार स्रोतले जानकारी दिएको छ ।
नेकपाभित्रको राजनीतिक विवादबारे भने कुनै सहमति बन्न नसकेको बताइएको छ । मन्त्रीपरिषद पुनर्गठनका लागि प्रधानमन्त्री ओलीले पुरानै दावी दोहोर्याएको र माओवादी कोटाबाट मन्त्री छान्न पनि आफैंले सिफारिस गरेको नामअनुसार गर्न अडान लिएपछि छलफल बिना निष्कर्ष टुंगिएको हो ।
पार्टीमा देखिएको विवाद, पार्टी एकताका बाँकी काम र मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा कुनै पनि सहमति जुट्न नसकेको स्रोतले जनाएको छ । ओली अहिले तीन मन्त्री मात्र फेर्ने र अन्यबारे चाडबाडपछि छलफल गर्ने मुडमा रहेका छन् ।