सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित आफू निकटका नेताहरुसँग खुमलटारमा छुट्टै छलफल गरेका छन् ।
शाहीविरुद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि कर्णाली प्रदेशमा विवाद चुलिएको छ ।
विवाद समाधान गर्न नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो । दुवै अध्यक्षले कर्णालीका पदाधिकारीहरुसँग छलफल गर्ने भनेपछि त्यहाँका पदाधिकारीहरु काठमाडौं आइसकेका छन् ।
तर, संयुक्त रुपमा छलफल अहिलेसम्म हुन सकेको छैन । दाहालले वरिष्ठ नेता माधवकुमार नेपाल समेतको उपस्थितिमा आज खुमलटारमा त्यहाँको वस्तुस्थितिका विषयमा छलफल गरेका थिए ।
दाहालसँगको छलफलमा शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्री केपी शर्मा ओली निकटका सांसदहरु भने सहभागी थिएनन् ।
खुमलटारमा भएको छलफलपछि दाहालले प्रधानमन्त्रीसँग कुरा गरेर संयुक्त छलफलमा बोलाउने बताएका छन् ।
कर्णाली प्रदेशका सांसद एवम् प्रमुख सचेतक गुलाबजंग शाहले आफूहरु काठमाडौैं आइसकेको र संयुक्त छलफल सम्भवतः भोलि हुने जानकारी दिए ।