logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना कहरको दशैं, आज घटस्थापना घरघरमा जमरा राखिँदै


अंकुरण खबर
4.394K
Shares

नेपालीको महान् पर्व बडादसैं आजबाट सुरु भएको छ । कोरोना भाइरसको महामारीका बीच आज घरघरमा विशेष पुजा आरधाना गरि घटस्थापना गरिदैछ । आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षको पुजा आरधाना गरि मनाईने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित शक्तिकी अधिष्ठात्री दुर्गाको पुजा गरि घटस्थापना गरिन्छ ।

नवरात्रको पहिलो दिन आज जमरा राख्ने गरिन्छ । विधिपूर्वक घट अर्थात् घडा राखी त्यसमाथि शक्तिस्वरुपा दुर्गाको पूजाराधना गरिने आजको दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा देवीको प्रसाद ग्रहण गर्दा असत्य माथि सत्यको विजय हुने धार्मिक विश्वास रहेको छ ।

घटस्थापनाको साइत आज बिहान ११ः ४६ बजे रहेको अंकुरण खबरलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए।

दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने पहिले देखिको परम्परा छ ।

कात्तिक १० गते देवी विसर्जनको साइत बिहान १०ः११ बजे र टिकाको साइत १०ः १९ मिनेटमा रहेको पञ्चाङ समितिले जनाएको छ । यस वर्ष महामारीको संकट रहेकाले कोरोनाबाट बच्न घरघरमै सुरक्षित रहेर मान्यजनबाट आशीर्वाद लिन सरकारले आग्रह गरेको छ ।