logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफिसमा अचेत अवस्थामा फेला परेका बिमा कम्पनीका म्यानेजरको उपचारका क्रममा मृत्यु


अंकुरण खबर
572
Shares

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित कार्यालयको कार्यकक्षमा अचेत अवस्थामा फेला परेका एक बिमा कम्पनीका म्यानेजरको उपचारका क्रममा मृत्यु भएको छ ।

रिलायन्स इन्स्योरेन्स महेन्द्रनगरका म्यानेजर गणेश साउँद शुक्रबार दिउँसो कार्यकक्षमा ढलेको अवस्थामा भेटिएका थिए । कार्यालयका कर्मचारीले प्रहरीलाई खबर गरेपछि उनको उद्धार गरी उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पुर्‍याइएको थियो ।

बैतडीको सुर्नया गाउँपालिका घर भएका ३५ वर्षीय साउँदको उपचारकै क्रममा शुक्रबार बेलुकी मृत्यु भएको हो । मुखबाट फिँज तथा वान्ता निस्किएर ढलेको अवस्थामा भेटिएको खबरपछि प्रहरीले उनको उद्धार गरेर उपचारका लागि धनगढी पठाएको थियो ।

साउँदको कार्यकक्षमा रहेको डस्टबिनमा सलफास नामक विषादी भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाले जानकारी दिए ।

डस्टविनमा सलफास भेटिएकाले साउँदले विषादी सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ ।

यद्यपि शव परीक्षण पछि मात्रै मृत्युको कारण पत्ता लाग्ने प्रहरीको भनाइ छ । साउँदको शव परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको छ ।