logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश-२ मा १२ हजार कोरोना सङ्क्रमणमुक्त


अंकुरण खबर
767
Shares

प्रदेश–२ मा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको संख्या १२ हजार नाघेका छन्।

असोज मसान्तसम्म कूल सङ्क्रमण पुष्टि भएका १४ हजार ६२० मध्ये सङ्क्रमण मुक्त हुने १२ हजार २७२ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो।

प्रदेशका आठवटै जिल्लामा गरी असोज मसान्तसम्म १४ हजार ६२० मा सङ्क्रमण पुष्टि भएको छ। यिमध्ये १२ हजार २७२ निको भएर नियमित काममा फर्केका निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए।

प्रदेशमा कोरोना महामारीले १५९ जनाको ज्यान गएको छ।  सङ्क्रमण पुष्टि भएर अहिले आइसोलेसनमा रहेका एकहजार ६८९ मध्ये धेरैजसोको स्वास्थ्य सुधारोन्मुख रहेको निर्देशनालयले जनाएको छ।

गत चैतको अन्त्यतिर प्रदेशको पर्सा जिल्लामा  आएका तीन भारतीयमा कोरोना पुष्टि भएसँगै क्रमशः यताका महिनामा सङ्क्रमण बढ्दै गएको हो। चैतदेखि भर्खरै बितेको असोजसम्मको सङ्क्रमण अवस्था हेर्दा सबैभन्दा बढी भदौ महिनामा सङ्क्रमण उच्च देखिएको निर्देशनालयले जनाएको छ।

भदौमा मात्रै पाँचहजारभन्दा माथि सङ्क्रमण पुष्टि भएको थियो। भदौमा सङ्क्रमणले मर्नेको सङ्ख्या पनि सबैभन्दा बढी ६६ भएको निमित्त निर्देशक झा बताए।

महामारीले वैशाखमा ९२, जेठमा एकहजार ९१९, असारमा एकहजार ८९७ र साउनमा तीनहजार ५४ जनामा सङ्क्रमण पुष्टि भएको अभिलेख छ। त्यसैगरी असोजमा दुईहजार माथि सङ्क्रमण पुष्टि भएका र ४८ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांक अभिलेखले देखाएको छ।