स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च रक्तचापका बिरामीहरुलाई थप सावधानी अपनाउन आग्रह गरेको छ ।
उच्च रक्तचापका बिरामीमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुने भन्दै मन्त्रालयले भएकाले सावधानी अपनाउन आग्रह गरेको हो ।
विश्व उच्च रक्तचाप दिवसको अवसरमा मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले नियमित रुपमा रक्तचापको परीक्षण गराउन आवश्यक रहेको बताए । नियमित जाँच गराउँदा रक्तचापले निम्त्याउने जटिलताबाट बच्न सकिने उनले बताए ।
उच्च रक्तचाप मृत्युको प्रमुख कारण बनेको भन्दै श्रेष्ठले भने, ‘अहिले बदलिएको जीवनशैली, खानपिन र निष्क्रिय दैनिकीका कारण रक्तचापको समस्या बढिरहेको छ । त्यसैले नियमित जाँच गराए यसले निम्त्याउने जटिलताबाट बच्न सकिन्छ।’
नेपालमा २४ दशमलव ५ प्रतिशतलाई उच्च रक्तचापको समस्या रहेको मन्त्रालयको तथ्यांक छ । ६० प्रतिशत मानिसले जीवनको कुनै समयमा रक्तचापको जाँच गराएका छन् भने ४० प्रतिशतले अहिलेसम्म जाँच नगराएको श्रेष्ठले जानकारी दिए ।
उच्च रक्तचापका ९ दशमलव ५ प्रतिशतले मात्र नियमित औषधि खाने गरेको मन्त्रालयले जनाएको छ । दैनिक ५ ग्राम मात्र नुनको सेवन गर्नु पर्नेमा ९ दशमलव ५ प्रतिशत ग्राम नुनको सेवन भइरहेको श्रेष्ठले बताए।
उच्च रक्तचापले मस्तिष्कघात, ह्रदयघात हुनेदेखि लिएर आँखा तथा मिर्गौलामा असर गर्ने उनले जानकारी दिए । सुर्तिजन्य तथा मदिराजन्य पदार्थको सेवन नगर्न र जीवनशैलीमा परिवर्तन गरे उच्च रक्तचापको समस्याबाट बच्न सकिन्छ । ४० वर्ष उमेर माथिका व्यक्तिले नियमित रुपमा रक्तचापको परीक्षण गराउन मन्त्रालयको आग्रह छ ।