उदयपुरको कटारी नगरपालिका वडा नम्बर १४ को भदौरेस्थित शिध्दिचरण राजमार्गमा आइतवार विहान स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी वेदप्रसाद गौतमले अंकुरण खबरलाई बताए अनुसार बा २० च ७१७१ नम्वरको स्कार्पियो भैरहवाबाट ओखलढुङ्गा तर्फ जादै गर्दा सडकबाट करिव नौसय मिटर तल खसेको छ । दुर्घटनामा ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका ४६ वर्षिय रामवहादुर सार्की, सोहि ठाउँका २७ वर्षिय कर्ण सार्की, परिचय नखुलेका अन्दाजी ३० वर्षकी एक महिला,३२ वर्षको पुरुष र ५२ वर्षको पुरुषको घटनास्थलमै मृत्यु भएको गौतमले बताएका छन् ।
उनका अनुसार गाडि चालक रुपन्देहि त्रिदम्वा नगरपालिका वडा नं १५ का २८ वर्षिय पवन खड्का,ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका १८ वर्षकी कल्पना सार्कीको अवस्था गम्भीर रहेको छ । त्यस्तै ३१ वर्षकी कुमारी सार्की सामान्य घाइते भएकी छिन् । ब्रेक फेल भएर दुर्घटना भएका प्रारम्भिक अनुमान भए पनि घटनाबारे थप अनुसन्धान भैरहेको गौतमले जनाएका छन् ।