logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलाली गस्तीमा खटिएका प्रहरीको हत्या, अर्का एक प्रहरी बेपत्ता


अंकुरण खबर
2.522K
Shares

कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गत पर्ने नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका एक प्रहरीको तस्करले हत्या गरि दिएका छन् । अर्का एक प्रहरी भने सम्पर्कविहीन छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीका अनुसार प्रहरी चौकी जुगेडामा कार्यरत २ प्रहरी आक्रमणको निशनामा परेका हुन् ।

आक्रमणमा परेका प्रहरीमध्ये एक जनाको शव फेला परेको छ । प्रहरी चौकी जुगेडाबाट शनिबार राति प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र हवल्दार रामबहादुर साउँद सीमा क्षेत्रमा गस्तीका लागि गएका थिए । जसमध्ये १ जनाको शव फेला परेको छ भने एकजना अझै बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका एक अधिकारीका अनुसार धनगढीको जुगेडा नाका हुँदै रातिको समयमा तस्करी हुने गरेको थियो । चाडवाड लक्षित तस्करी हुने गरेकाले पछिल्लो समय सीमा क्षेत्रमा गस्ती गर्ने गरिएको थियो ।

शनिबार राति पनि असई विक र हवल्दार साउँदा मोटरसाइकल गस्तीमा सीमा क्षेत्रमा गएका थिए । गस्तीमा गएको धेरै समयसम्म पनि सम्पर्कमा नआएपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो । खोजीका क्रममा आइतबार बिहान मोहना नदीमा असई विकको शव फेला परेको हो ।

प्रहरीले तस्करको समूहले नै हत्या गरेर असई विकको शव नदीमा फालेको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाएको छ । बेपत्ता भएका प्रहरी हवल्दार साउँदको खोजी जारी रहेको डीआईजी सुवेदीले जानकारी दिए ।