logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सार्वजनिक बस चढ्दा फेससिल्ड अनिवार्य


अंकुरण खबर
1.105K
Shares

सार्वजनिक बसमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य फेस सिल्ड (भाइजर) लगाउनुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागले स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार बस चढ्दा फेस सिल्ड लगाउनुपर्ने व्यवस्था गरेको हो। फेस सिल्ड भने यात्रु आफैले व्यवस्था गर्नुपर्नेछ ।

सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोक्न पाउने निर्णय गरेको थियो । त्यसपछि बसमा यात्रुहरु सबै सिटमा बस्न थालेका छन् ।

बसको सिट क्षमता अनुसार नै यात्रु राख्न पाइने भएपछि भौतिक दूरी कायम नहुने भन्दै विभागले फेस सिल्ड लगाउन अनिवार्य गरेको हो । यात्रुले विगतबाटै जसरी मास्क अनिवार्य रुपमा आफैंले लगाउँदै आएका छन्, अब फेस सिल्ड पनि अनिवार्य रुपमा लगाउनुपर्ने भएको छ।

यात्रु, चालक तथा सहचालक सबैले अनिवार्य रुपमा फेस सिल्ड लगाउँदा कोरोना संक्रमण जोखिम केही हदसम्म न्यून हुने विभागको भनाइ छ । यात्रु आफैं आफ्नो स्वास्थ्यप्रति सचेत हुनका लागि समेत फेस सिल्ड लगाउन राम्रो हो ।

हवाइ यात्राका लागि सुरुदेखि नै फेस सिल्ड अनिवार्य गरिएको थियो । त्यस्तै विभागले सबै सिटमा यात्रु बोक्न पाइने भएपछि बढी भाडा नतिर्न यात्रुलाई आग्रह गरेको छ ।

सरकारले यसअघि सिट क्षमताको आधामात्र यात्रु बोक्दा साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरेको थियो ।

असोज २६ गतेको मन्त्रिपरिषदले साविककै भाडामा सिट क्षमता अनुसार यात्रु राख्न पाइने निर्णय गरेपछि विभागले सूचना जारी गर्दै साविककै दरमा भाडामा यात्रु गर्न यात्रुलाई आग्रह गरेको छ ।