आज नेपालीहरुको महान चाड बडादशैंको चौथो दिन कुष्माण्डा भगवतीको पूजा आरधना गरिदैछ ।
कुष्माण्डा भगवतीलाई दुर्गा भवानीका ९ रुपमध्ये चौथो रुप मानिन्छ । कुष्माण्डा भगवतीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पनि पूजा गरिन्छ । आफ्नो छातिमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको उत्पत्ति भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरुमा पुजा भइरहेको छ । प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न देवदेवीका अतिरिक्त विशेष गरी शक्तिस्वरुपा दुर्गा भवानीलाई शैलीपुत्र, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाको नामले पनि प्रचलित छ ।
दसै पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । तर यस पटक भने कोरोनाको महामारीका कारण शक्तिपिठहरुमा पुजा आरधानाका लागि भक्तहरुलाई नजान र दशंैमा भीडभाड नगर्न आग्रह गरिएको छ ।