हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्का वर्षाको गतिविधि मङ्गलबार राति अत्यधिक देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ ।
यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् । हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलोका कणका कारण प्रत्येक वर्ष मे महिनामा ‘एटा एक्वारिएट’ र अक्टोबरमा ‘ओरियनिड’ उल्कावर्षा हुने गर्छ ।
मङ्गलबारको उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई मृगशिरा उल्कावर्षा (ओरियनिड मिटियर सावर) नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । अक्टोबर २ देखि आफ्नो सक्रियता देखाउने यो उल्कावर्षा नोभेम्बर ७ सम्म सक्रिय रहनेछ ।
उल्का वर्षाको अत्यधिक सक्रिय गतिविधि स्थानीय समयअनुसार अक्टोबर २० राति १०ः४५ देखि नै सुरु भइ अक्टोबर २१ को बिहान ५:४५ बजेसम्म देख्न सकिनेछ । उल्का वर्षा हेर्नको लागि मध्यरातपछिको समय उत्तम मानिन्छ । अत्यधिक उल्का वर्षाको बेला प्रतिघण्टा १५ वटासम्म उल्का देखिने अनुमान छ । ती उल्का वर्षाको गति प्रतिसेकेण्ड ६७ किमीसम्म हुने भएकाले करिब ७० किमीमाथि वायुमण्डलमा घर्षण पैदा भइ यस्तो दृश्य देखिने पनि उनले बताए ।