logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीको असई हत्या प्रकरणमा संलग्न ७ जना सार्वजनिक


अंकुरण खबर
3.601K
Shares

जिल्ला प्रहरी कार्यालय कैलालीले दुई प्रहरीको हत्यामा संलग्न रहेको आरोपमा सात जनालाई सार्वजनिक गरेको छ ।

मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी पक्राउ परेका १३ जना मध्ये सात जनाको संलग्नता रहेको भन्दै कैलाली प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो। घटनामा संलग्न सातजना रहेको र उनीहरुको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भईरहेको कैलालीका डीएसपी प्रतिक बिष्टले बताए।

प्रहरी हत्या अभियोगमा धनगढी उपमहानगरपालिका १० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने राम गोपाल राना रहेका छन्।

कात्तिक १ गते राति साढे १० बजे अस्थाई प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक गोबिन्द बिक र प्रहरी जवान राम बहादुर साँउदको हत्या भएको थियो । बिकको २ गते र साउँदको मंगलबार बिहान मात्रै शव फेला परेको थियो ।

सिमावर्ती क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रणका लागि जुगेडाको दक्षिणी भागमा नियमित गस्ती गर्ने क्रममा उनीहरुको हत्या भएको थियो।

धनगढी उपमहानगरपालिका १० स्थित मोहना नदीबाट अन्दाजी ४०० मिटर उत्तरमा सीमामा अबैध समानहरुको तस्करी गरिरहेका तस्करहरुको समुहलाई रोक्ने एवं नियन्त्रणमा लिने क्रममा उक्त तस्करहरुको समुहले योजनाबद्ध रुपमा धारीलो हतियारले प्रहार गरी दुबै जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या गरी सकेपछि घिसार्दै करिब ४०० मिटर दक्षिणमा नेपाल भारत सिमामा रहेको मोहना नदीमा लगी शव फालेका थिए।

घटनापछि सुदुरपश्विम प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले घटनाको अनुसन्धानका क्रममा सुरुमा ११ र पछि २ गरी १३ जनालाई पक्राउ गरेको थियो।