कर्णाली प्रदेशको विवाद सल्टाउन नेकपाका अध्यक्षद्वयबीच ४ बुँदे सहमति भएको छ ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज यस्तो सहमति भएको हो ।
सहमतिअनुसार कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर हुने भएको छ ।
त्यस्तै प्रमुख सचेतकमा नियुक्त सीता नेपालीको सम्वन्धमा भएको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने सहमति भएको छ ।
मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।