प्रधानसेनापति पूर्णचन्द्र थापाले जाडो याममा कोरोना भाइरस बढ्न सक्ने संभावना रहेकाले सबै पृतनालाई सरोकार निकायसँग समन्वय गरी पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् ।
मंगलबार तीन दिने पृतनापति समन्वयात्मक बैठकको समापन गर्दै प्रधानसेनापति थापाले अन्य मौसममा भन्दा चिसो मौसममा भाइरसको संक्रम हुने दर बढ्ने संभावना रहेकाले जोखिमको पूर्वाअनुमान अनुसार परिपक्व योजना बनाएर समन्वयका साथ काम गर्न निर्देशन दिए ।
थापाले महामारीबाट फौज र तिनका परिवारलाई सुरक्षित राख्नका लागि स्वास्थ्य सुरक्षामा विशेष ध्यान पु¥याउन निर्देशन दिएका छन् । उनले भने, ‘सेनाको कार्यशैलीमा आएको सकारात्मक परिवर्तनले सङ्गठनलाई पद्धति र प्रणालीमा आधारित तुल्याउन थप बल पु¥याएको छ । ’
सैनिक मुख्यालय जङ्गीअड्डामा सञ्चालित बैठकमा जङ्गीअड्डाका मातहतका महानिर्देशनालय, निर्देशनालय, विभाग र पृतनाका प्रतिनिधि सहभागी थिए ।