प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग बालुवाटारमा २ घण्टा लामो छलफल गरेका छन् ।
कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग सहमति नभएका बेला ओलीले नेपालसँग छलफल गरेका हुन् ।
वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले प्रधानमन्त्री ओली र नेपालबीच भेटवार्ता भएको जानकारी दिए ।
‘प्रधानमन्त्रीले फोन गरेर भेट्न भनेपछि नेता नेपाल बालुवाटार जानु भएको हो,’उनले भने,‘छलफलका बारेमा मलाई जानकारी भएन । तर, अहिलेको समयसामयिक विषयमा नै छलफल भयो भन्ने बुझेको छु ।’
पार्टीको स्थायी कमिटीको बैठकका समयमा घेराबन्दीमा परेका ओलीले अध्यक्ष दाहालसँग सहमति गरेर अघि बढेका थिए । अहिले कर्णाली प्रदेशमा देखिएको विवाद समाधानमा दाहालसँग विवाद बढेपछि नेपाललाई मनाउने प्रयास स्वरुप ओलीले छलफल गरेको बुझिएको छ ।
२५ असोजमा कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध सांसद यमलाल कँडेलसहितका १८ जनाले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
नेता नेपाल पक्ष र दाहालपक्षबीच सहमति भएर नेपाल पक्षीय सांसद अविश्वासको प्रस्तावबाट पछि हट्ने सहमति भएपछि ओली अल्पमतमा परेका छन् ।
२६ भदौमा सम्पन्न भएको पार्टीको स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयन र कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्ने विषयमा कार्यकारी अध्यक्ष दाहालसँग विवाद बढेपछि ओलीले अन्य नेताहरुलाई फकाउने कसरत गरेको बुझिएको छ ।