logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वदेश फर्किए ‘रअ’ का प्रमुख गोयल


अंकुरण खबर
1.898K
Shares

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयल राजनीतिक भेटवार्ता सकेर दिल्ली फर्किएका छन्। बिहान सवा १० बजे विशेष विमानबाट उनी स्वदेश फर्किएको सुरक्षा स्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालयबाट कुटनीतिक उडान अनुमति लिएर हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान अहिले फर्किसकेको विमानस्थल स्रोतले समेत जनाएको छ ।

छोटो समयका लागि काठमाडौं आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत राजनीतिक दलका नेताहरूसँग पालैपालो भेटघाट गरेको स्रोतले बताएको छ । तर, गोयलको भ्रमण के कति उद्देश्यका लागि थियो भन्नेबारे सरकारले आधिकारिक जानकारी गराएको छैन । यस विषयमा परराष्ट्र मन्त्रालयले पनि कुनै जानकारी गराएको छैन ।

राति ९ बजे गोयल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ । गोयल भारत फर्किनुअघि बिहीबार बिहान शितल निवास पुगेर राष्ट्रपतिलाई भेटेको बताइएको छ ।

प्रधानमन्त्रीकै इच्छामा भारतीय गुप्तचर प्रमुख नेपाल आएको बताइएको छ । ओलीसँगको भेटमा उनले पछिल्लो सीमा विवादबारे छलफल गरेको हुनसक्ने अनुमान सुरक्षा स्रोतको छ । तर, भेटवार्तामा के–के कुराकानी भयो भन्नेबारे खुलेको छैन।

गोयलले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका राजनीतिक नेताहरुसँग भेट गरेको बताइएको छ। तर, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले भने गोयलसँग दाहालले नभेटेको जिकिर गरेको छ।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाले विज्ञप्ति जारी गर्दै दाहालले गोयललाई भेटेको भन्ने समाचारमा सत्यता नभएको जनाएका छन्। सापकोटाले उक्त समाचारप्रति सचिवालयको ध्यानाकर्षण भएको भन्दै ‘संवेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्छौँ’ भनेका छन्।