logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनसरीमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु


अंकुरण खबर
1.352K
Shares

कोरोना भाइरसको संक्रमणबाट सुनसरीमा थप चार जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनीहरु धरान उपमहानगरापलिका र वराहक्षेत्र नगरपालिकाका रहेका छन्।

गएराति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान उपमहानगरपालिका–१७ की ६२ वर्षीया बृद्धाको मृत्यु भएको छ । उनलाई असोज २० गते कोरोना पुष्टि भएको थियो ।

होम आइसोलेसनमा बस्दै आएकी उनी कात्तिक ७ गते अस्पताल भर्ना भएकी थिइन् । उनलाई मिर्गौलासम्बन्धी समस्या रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए ।

त्यस्तै, शनिबार साँझ धरान उपमहानगरपालिका–१५ बाझगराकी ५६ वर्षीया महिलाको कोरोनाबाट ज्यान गएको छ । बीपी प्रतिष्ठानमा आईसीयू र भेन्टिलेटर नपाएपछि विराटनगरस्थित नोबेल अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैगरि, धरान उपमहानगरपालिका–१३ का ५३ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । उनका बारेमा थप जानकारी आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै, शनिबार नै बराहक्षेत्र नगरपालिका–१० का ४२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । उनी क्षयरोग, दम र एचआईभीबाट पीडित रहेको जनाएको छ । उनको आइसोलेसन सेन्टरमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।