logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्सामा नेकपा कार्यकर्ताबीचको झडपमा मृत्यु भएका चौरसियाको अझै पोष्टमार्टम हुन सकेन


अंकुरण खबर
845
Shares

पर्सामा सत्तारुढ नेकपाका कार्यकर्ताबीच भएको झडपका क्रममा छ दिनअघि मृत्यु भएका मुकेश चौरसियाको अझै पोष्टमार्टम हुन सकेको छैन ।

बिहीबार नेकपाको बिन्दावासिनी गाउँपालिका अध्यक्षको शपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले विथोल्न खोज्दा भएको झडपमा परी गम्भीर घाइते भई शुक्रबार उपचारको क्रममा मृत्यु भएका चौरसियाको शव वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।

आक्रमण गर्नेहरुमाथि प्रहरीले किटानी जाहेरी दर्ता नगरेको भन्दै परिवारजन तथा नेकपाका जिल्लास्तरीय नेताले शव पोष्टमार्टम गर्न दिन मानेका छैनन् । बाह्रै जनाविरुद्ध जाहेरी दर्ता नहुन्जेल शव पोस्टमार्टम हुन नदिने परिवार र नेकपा नेताहरुको अडान छ ।

मुद्दा दर्ता गर्न आज जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउने र धर्ना दिने तयारी गरिएको छ । घटनामा संलग्न भएको आरोपमा प्रधानमन्त्री ओली निकट नेता पूर्व संविधानसभा सदस्य राजकुमार गुप्ता, स्थानीय चुनावमा बिन्दावासिनी गाउँपालिकाका राजपाका गाउँपालिका अध्यक्ष उम्मेदवार रहेका लक्ष्मण चौरसिया, अनिष अन्सारीलगायत १२ जनामाथि किटानी जाहेरी परेको छ ।

घटनामा संलग्न नरहेका व्यक्तिको समेत नाम किटान गरी जाहेरी दिएकाले दर्ता हुन नसकेको प्रहरीले जनाउदै आएको छ । घटनामा संलग्नलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालले छुट्टा छुट्टै विज्ञप्ति निकालेर माग गरेका छन् ।