युट्युब च्यानल मार्फत नयाँ गीत सार्बजनिक गरेका र्यापर भिटेन अर्थात समीर घिसिङ फेरि विवादमा परेका छन्।
भिटेनले आफ्नो युट्युब च्यानल मार्फत् पाँच दिनअघि सार्वजनिक गरेको भिडियोमा आपत्तिजनक शब्द प्रयोगको भन्दै प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो।
उनलाई कारवाही गर्न साइबर ब्यूरोलाई निर्देशन दिइएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए।
भिटेनले ‘पारा’ शीर्षकमा नयाँ गित सार्वजनिक गरेका थिए। पाँच दिनमा ११ लाख पटक हेरिएको उक्त भिडियो गीत नेपालमा युट्युब टेन्ड्रिङको पहिलो नम्बरमा छ।
‘गीतका शब्द अपाच्य र आपत्तिजनक छन्। त्यसमा प्रहरीलाई पनि गाली गरेको देखिन्छ,’ प्रवक्ता एसएसपी कडायतले भने।
यसअघि पनि विवादित गीतकै कारण भिटेनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो। त्यसबेला उनले सार्वजनिक गरेको भिडियो हटाउन लगाएर अबदेखि विवादित काम नगर्ने सर्तमा उनी रिहा भएका थिए।