सर्वोच्च अदालतमा मुद्दाको बहसको क्रममा पक्ष र विपक्षका तर्फबाट दुई–दुई वकिल मात्रै सहभागी हुन पाउने भएका छन् ।
कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा संक्रमण हुन नदिइ न्याय प्रक्रियालाई पनि निरन्तरता दिनका लागि बसहमा एक प्रमुख र एक सहयोगी वकिल मात्रै उपस्थित हुन पाउने व्यवस्था गरिएको सर्वोच्च अदालतले मंगलबार सूचना निकालेर जानकारी गराएको हो।
दुई भन्दा बढि कानून व्यवसायी रहेको अवस्थामा अन्य कानून व्यवसायीको तर्फबाट बसह नोट पेश गर्न सकिने सूचनामा उल्लेख छ। महामारीका कारण गएको चैत ९ गतेदेखि अदालतका काम कारवाहीमा संकुचन आएको छ।
अहिले बन्दाबन्दी वा निषेधको आदेशको अवस्था नरहेको, अदालतका काम कारवाही वा सेवा प्रवाहमा संकुचन ल्याएको निकै लामो अवधि भएको र यसले सेवाग्राहीको न्याय प्राप्तिमा कठिनाइ भएकाले त्यसलाई सम्बोधन गर्ने गरि महामारी नफैलिने व्यवस्थासहित सेवालाई निरन्तरता दिनका लागि नयाँ व्यवस्था गरिएको सर्वोच्चले जनाएको छ ।
आउँदो मंसिर १ गतेसम्म पुनरावेदन तथा रिट लगायतका निवेदनहरुको दर्ता तथा रिट निवेदनहरुको प्रारम्भिक सुनुवाई एवम् बन्दीप्रत्यक्षीकरण अन्तरिम आदेशको छलफल, संवैधानिक इजलासमा पेश हुने रिट निवेदन एवम् मुद्दाहरुको सुनुवाई गरिने उल्लेख छ ।
मंसिर २ गतेदेखि व्यवस्थापनको सहजता र सम्भाव्यतालाई मध्यनजर गरि उपयुक्त देखिएको संख्यामा पेशीको व्यवस्थापन गरि सबै प्रकारका मुद्दा, रिट, निवेदन–प्रतिवेदनको नियमित सुनुवाई हुने सर्वोच्चले जनाएको छ ।
इजलासमा उपस्थित हुने पक्ष, कानून व्यवसायी, इजलास अधिकृत लगाय सम्बन्धित सबैले अनिवार्य रुपमा माक्स लगाउने, माक्स नहटाई बहस गर्ने र सम्भव भएसम्म प्लाष्टिक भाइजर समेत लगाउनु पर्ने सर्वोच्चको सूचनामा उल्लेख छ ।
संक्रमण हुन नदिनका लागि सबै सावधानीका उपायहरु अपनाउनु पर्ने उल्लेख गरेको छ ।