सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपालाई भ्रष्ट पुँजीवादी पार्टी बन्न नदिन नेता कार्यकर्तालाई अपिल गरेका छन् ।
मंगलबार एक ट्वीट सन्देश जारी गर्दै उनले पार्टीलाई अकर्मण्य बनाई विघटन एवम् विसर्जनको दिशामा जान र भ्रष्ट पुँजीवादी पार्टी बन्न नदिन अपिल गरेका हुन् । ‘सल्लाह गरेर पार्टी अलग-अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भएपनि सही होइन,’ उनले लेखेका छन्, ‘तर, त्यसमा अन्तर्निहित एउटा पक्ष अर्थात् व्यक्तिगत कटुतासहितको व्यक्तिगत बिषय नबनाऔं भन्ने कुरा सही छ र त्यसलाई पार्टी विभाजन नगरी अर्को सन्दर्भमा सकारात्मकरुपले प्रयोग गरौं ।’
उनले पार्टीभित्रको बहसलाई व्यक्तिगत गाली र आरोपप्रत्यारोपको रुपमा नलिन पनि उनले भनेका छन् ।
‘पार्टीभित्रको छलफल, बहस र अन्तर्सँघर्षलाई ब्यक्तिगत गालीगलौज र आरोप प्रत्यारोपको रुप नदिऔं,’ उनले भनेका छन्, ‘राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर विचार, नीति र प्रवृत्तिमा आधारित भई स्वस्थ एवं रुपान्तरणमुखी छलफल गरौं ।’
‘तैं चुप मै चुप पनि नगरौं, तुम शेर तो हम सवा शेर झै व्यक्तिगत झगडा तथा गालीगलौज पनि नगरौं,’ उनले भने, ‘पार्टी एकताको रक्षा गरौं । साथै पार्टीलाई अकर्मण्य बनाई विघटन एवं विसर्जनको दिशामा जान र भ्रष्ट पुँजीवादी पार्टी बन्न पनि नदिऔं ।’
प्रवक्ता श्रेष्ठले नेता कार्यकर्तालाई दम्भ नदेखाउन र पार्टी एकता रक्षा गर्न आग्रह गरेका छन् ।